काठमाडौं, साउन २ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने सबै खेलाडीलाई आजीवन भत्ता दिन माग गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश सिलवाललाई स्वागत गर्नेक्रममा बिहीबार १३ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै संघले सागका रजत र कास्यपदकधारीलाई पनि भत्ता दिन माग गरेको हो ।
पत्रमा सागका स्वर्णपदकधारी, एसियाली खेलकुदका पदकधारी र ओलम्पियनलाई प्रोत्साहनस्वरूप दिइँदै आएको आजीवन भत्तालाई निरन्तरता दिँदै सागका रजत र कास्यपदकधारीलाई पनि भत्ता उपलब्ध गराउन माग गरिएको छ ।
संघले सागमा तीनभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाईमात्र नगदसहित सम्मान गरिँदै आएकामा अब तीनभन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मान गर्न माग गरेको छ ।
यस्तै, खेलाडी संघले आसन्न १३औं सागको आयोजना गर्न चार महिनामात्र बाँकी रहेकाले खेलाडीलाई उच्चस्तरको प्रशिक्षण र क्षमता अभिवृद्धिका लागि गम्भीर बन्नसमेत माग गरेको छ ।
सदस्यसचिव सिलवालले विस्तृत् योजना बनाएर माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्