
-दुर्गा उपाध्याय/ईमेज
कन्चनपुर । तीनतिरबाट नदी र जंगलले घेरिएको कञ्चनपुरको लालझाँडीमा वर्षात् सुरु भएसँगै झन त्रास थपिएको छ ।
बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा सडक सञ्जाल र भरपर्दो पुल पनि नहुँदा स्थानीयमा त्रास बढ्न थालेको हो ।
कञ्चनपुरको लालझाँडी गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम र विकट क्षेत्रका रुपमा चिनिन्छ । तीनतिर नदी र जंगलबाट घेरिएको यस क्षेत्र बाढीको उच्च जोखिममा छ ।
दोदा र अन्य साना नदी तथा खोलाका कारण बाढी र कटानको उच्च जोखिममा परेका लालझाँडीका बासिन्दाले अझै पूर्वाधार विकासको अनुभूति गर्न सकेका छैनन् ।
पुल र सडक नहुँदा जोखिमपूर्ण यात्रा गर्दैै आएका उनीहरुका लागि वर्षायाम झन् विपत्ति बनेर आउँछ ।
बाह्रैमहिना गोरुगाडा, साइकल, मोटरसाइकल र ट्याक्टरमा यात्रा गर्ने स्थानीयले खोला तर्दा कयौं आफन्तजन गुमाइसकेका छन् ।
ओहोरदोहोर गर्न बनाइएको काठेपुल पनि वर्षायाममा खोलाले डुबाउने भएकाले अनुमानकै भरमा तर्नुपर्छ ।
यस्तो जोखिमपूर्ण अवस्थाबाट मुक्ति दिलाउन सरकारले भरपर्दो पुल बनाइदिनुपर्ने स्थानीय बमन राना बताउँछन् ।
थारु समुदायको बाहुल्यता रहेको यहाँका स्थानीय कृषिमा आश्रित छन् । कृषि उत्पादन राम्रै हुने भए पनि उत्पादित अन्न बजारसम्म पुर्याउनै मुस्किल छ ।
दैनिक रुपमा ओहोरदोहोर गर्नुपर्ने विद्यार्थीहरुले अझ सास्ती भोगिरहेका छन् भने कोही विरामी पर्दा पनि निकै समस्या हुने गरेको छ ।
यता, गाउँपालिकामा थोरै रकम भएकाले सबै खोलामा पुलको निर्माण गर्न नसकिएकाले प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने लालझाँडी गाउँपालिका १ का वडाध्यक्ष क्षमानन्द राणाको भनाइ छ ।
सरकारले प्राथमिकतामा राखेरै भए पनि यस्ता जोखिमपूर्ण क्षेत्रको पूर्वाधारमा जोड दिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्