Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


नेपालभर टीकाको एउटै साइत तर त्रिपुराकोटमा भने आफ्नै साइत


0
Shares

डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।

नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने प्रचलन छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी भानुचन्द्र उपाध्यायले बताउनुभयो ।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ”, उहाँले भन्नुभयो, “त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन् ।”

दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ-आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम रहेको पूजारी उपाध्यायको भनाइ छ ।

त्रिपुराकोट बाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाललगायत अन्य स्थानमा भने ज्योतिषका साइत अनुसार नै जमरा टीका लगाइन्छ ।

ज्योतिषका अनुसार आज बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।

त्रिपुरा सुन्दरी मन्दिरमा नवरात्र अवधिभर पूजाआजा गर्नका लागि जिल्लाका विभिन्न गाउँबाट ब्राह्मण तथा भक्तजनहरु आउने गर्दछन् । मन्दिरको पूजाआजा व्यवस्थापनका लागि ब्राह्मण, निसानी, छडिदार, फुलारा, दमाइ र कुलाललाई विशेष जिम्मेवारी तोकिएको हुन्छ ।

जसअनुसार ब्राह्मणलाई पूजाआजा गर्ने, निसानीलाई निसान बोक्ने, छडिदारलाई राङ्गाबोका वली काट्ने, फुलारालाई देवीको फुलको डोला बोक्ने, दमाइको बाजागाजा बजाउने र कुलालको राङ्गा वलीका लागि बावियोको डोरी बाँध्ने जिम्मेवारी दिएको हुन्छ ।

नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ ।रासस