काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना आज (साउन १)बाट औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल मंसीर ११ गते शुभारम्भ गर्नुभएको योजना २०७६ श्रावण १ बाट औपचारिक रुपमा कार्यान्वयनमा आएको हो ।
यसबाट नेपाली जनताले सामाजिक सुरक्षा पाउने संविधानको मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधी उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्धावस्था सुरक्षा योजना सहित चार वटा योजना सञ्चालन गर्ने जनाइएको छ ।
यस प्रकारको योजनामा सहभागी हुन आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा योगदान गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसमध्ये सम्बन्धित रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत रकम योगदान गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।
योगदान बापतको रकम कोषमा जम्मा गरे पश्चात मात्र कोषले सञ्चालनमा ल्याएका योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।
सरकारले यससम्बन्धी कार्यविधि २०७५ परिमार्जन गरी सूचिकृत हुन बाँकी रोजगारदाता तथा योगदानकर्ता कोषमा सूचिकृत हुने समयाबधी २०७६ असोज मसान्तसम्म हुनेगरी आदेश जारी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्