काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ’बी’ मा परेको हो ।
नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन् ।
दोस्रो चरणको छनोट आगामी भदौ १९ गतेदेखि सुरु हुनेछ । पहिलो खेलमा नेपालले भदौ १९ मा घरेलु मैदानमै खेल्नेछ ।
गत अप्रिलमा फिफाले निकालेको वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सीधै दोस्रो चरण खेल्न पाएको हो । नेपाल सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्न सफल भएको थियो ।
यसपटकको छनोटमा ४० टोलीलाई आठ समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइने छ ।
दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा ठाउँ बनाउने छन् ।
छानिएका १२ टोलीले सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप फुटबलमा समेत ठाउँ बनाउने छन् ।








प्रतिक्रिया दिनुहोस्