
विराटनगर । बाढी तथा डुबानबाट बढी प्रभावित भएको विराटनगर महानगरपालिकाको जनजीवन सामान्य बन्दै गएको छ ।
मनसुन रोकिएसँगै बस्तीमा पसेको पानी सुकेपछि विस्थापितहरु घरमा फर्किन थालेका हुन् ।
अविरल वर्षासँगै आएको बाढीले विराटनगर महानगरपालिकामा झण्डै १६ सय परिवार विस्थापित भएका थिए ।
विस्थापितहरुलाई महानगरले अस्थायी बसोबासका लागि विभिन्न ६ वटा स्कुलमा क्याम्प खडा गरी खान र बस्नको प्रबन्ध मिलाएको थियो ।
तर वर्षा रोकिन थालेपछि विस्थापितहरुलाई आ–आफ्ना घरमा फर्काउन थालिएको छ ।
बस्तीमा पसेको पानी सुकेसँगै विभिन्न विद्यालयमा बस्दै आएका प्रभावितहरु बुधबारबाट घर फर्कन थालेका हुन् ।
महानगरले पनि विस्थापित भएकाहरुको बस्तीमा पानी सुकेपछि तत्कालका लागि केही राहत दिएर पुरानै थलोमा फर्काउने पहल गरेको हो ।
घरभित्रको अन्नबाली, लत्ताकपडा समेत निकाल्न नपाएका कारण आश्रयस्थलमा फर्के पनि तत्कालका लागि खान र सुत्नकै समस्या भएको छ ।
विस्थापितहरुलाई पुरानै थलोमा फर्काउने अभियान स्वरुप विस्थापितहरुलाई खानका लागि खान, बस्न र सुत्नका मेट्रेसको प्रबन्ध मिलाइएको विराटनगर महानगरपालिकाका नगरप्रमुख भीम पराजुलीको भनाइ छ ।
प्रदेश नं १ मा बाढी र डुबानका कारण मोरङको विराटनगर सबैभन्दा बढी प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्