Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीतः श्रेष्ठ


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ ।

यो भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? भन्दै प्रश्न गर्नुभएको छ ।

यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने उहाँको ठहर छ ।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपालाई कुनै पूर्वजानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।

आफ्नो व्यक्तिगत विचार भन्दै नेता श्रेष्ठले फेसबुकमा लेख्नु भएको छ, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।’