१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


इलाममा कृषि विकासमा छुट्याइएको २ करोड १८ लाख रुपैयाँ फ्रिज


0
Shares

इलाम । इलाममा कृषि विकासमा छुट्याइएको २ करोड १८ लाख रुपैयाँ फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत जिल्लामा कृषिको व्यवसायिक प्रवद्र्धनका लागि विनियोजित रकम खर्च हुन नसकेपछि बजेट फ्रिज भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले बताए ।

अदुवा मिसन कार्यक्रम, चैते धान विशेष कार्यक्रम, खाद्यान्न बीउ आत्मनिर्भर कार्यक्रम, नमूना कृषि फार्म, सुन्तला जात बगैंचा व्यवस्थापनका नाममा आएको रकम खर्च नभई फिर्ता भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

यस्तै अलैंची प्रशोधन केन्द्र स्थापना, कफी खेती विस्तार, व्यावसायिक फलफूल बगैंचा स्थापना र कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि विनियोजित रकमसमेत फ्रिज भएको छ ।

कृषि ज्ञान केन्द्रमा बजेट कार्यान्वयन र कार्यक्रम सञ्चालनका लागि प्रदेश मन्त्रालयले समयमै निर्देशिका र कार्यविधि नपठाएका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको प्रमुख शाहले जानकारी दिए ।

आर्थिक वर्ष समाप्त हुनलाग्दा संशोधित अख्तियारी प्राप्त भएको र बजेट कार्यान्वयनका लागि कार्यविधि ढिलो प्राप्त भएका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ ।