पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी • Image Khabar Image Khabar


पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी


रासस
६ कार्तिक २०७७, बिहीबार २१:०५

पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी

काठमाडौं, कात्तिक ६ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा–सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गरी केही सञ्चारगृहले विगतमा उपलब्ध गराउँदै आएको दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल भुक्तानी गर्न माग गर्नुभएको हो ।

उहाँले तत्काल भुक्तानी उपलब्ध नगराए श्रमको सम्मान नगर्ने सञ्चारगृहहरुविरुद्ध कठोर हुन बाध्य हुने चेतावनीसमेत दिनुभएको छ ।

‘महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चारगृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चारगृहहरुकेन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ’-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले कोरोनाभाइरस (कोभिड-१९) महामारीको बहानामा निष्कासन गरिएकाको पुनःस्थापना, गैरकानुनी सरुवा रद्ध, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या समाधान गर्नपनि आग्रह गरेको छ ।

श्रमजीवी पत्रकार ऐन र त्यसअन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासीनताका कारण आमश्रमजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि सरकार र सरोकारवाला पक्षसँग पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रेस विज्ञप्ति

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा नेपाल पत्रकार महासंघले सञ्चार गृहहरुमा निरन्तर खबरदारी, वार्ता, दबाबमूलक आन्दोलनका साथै कानुनी संघर्षलाई निरन्तरता दिँदै आएको विदितै छ । महासंघको यो प्रयासका बाबजुद सञ्चार गृहहरुले विगतमा उपलब्ध गराउँदै आएको दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

फूलपातिको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदार/कर्मचारीहरुलाई वडा दशैं नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम अपमान भएको महासंघ ठान्दछ र यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदछ ।

श्रमजीवी पत्रकार ऐन–२०५१ र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासिनताका कारण आम श्रमजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि महासंघ सरकार र सरोकारवाला पक्षसँग पुनः आग्रह गर्दछ ।

महासंघ फेरि पनि सम्पूर्ण सञ्चार गृहहरुलाई दबाबमूलक बिदामा राखिएकालगायत सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न जोडदार माग गर्दछ । साथै, कोरोना महामारीको बहानामा निष्काशन गरिएकाको पुर्नस्थापना, गैरकानुनी सरुवा रद्ध, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या हल गर्न पनि पुनः आग्रह गर्दछ ।

अन्यथा महासंघ श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी दिन चाहन्छ । महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चार गृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चार गृहहरु केन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ ।

रमेश विष्ट
महासचिव

प्रतिक्रिया दिनुहोस्