२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


बिहीबार देशभरका अस्पताल ठप्प, यस्तो छ चिकित्सक संघको चेतावनी (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)

काठमाडौं, साउन २ । जुम्लामा १९ दिनदेखि अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने भएको छ ।

गत सोमबार सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’ दिएका चिकित्सकहरुले यसबीचमा सरकारले कुनै चासो नदेखाएपछि सेवा ठप्प पार्ने बाध्यतामा पुगेका हुन् ।

वार्ता समिति बनाएर डा. केसीका माग पूरा गर्न नेपाल चिकित्सक संघले गत सोमबार सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

सरकारले वार्ता समिति त गठन गर्‍यो । तर, उक्त वार्ता समितिले मंगलबारको वार्तामा डा. केसीका माग सम्बोधन गर्ने अधिकार समितिसँग नरहेको भन्दै  निरीहता प्रकट गर्‍यो । फलस्वरुप, वार्ता फगत औपचारिकतामा समाप्त भयो ।

डा. केसी र उनका समर्थकहरु निकासको ठोस कार्यक्रम नआएसम्म वार्तामै नबस्ने निष्कर्षमा पुगेका छन् ।

समस्या समाधान गर्नेभन्दा पनि सरकार जनताको आँखामा छारो हाल्ने हिसाबले प्रस्तुत् भएको आशंका बढ्न थालेपछि चिकित्सक संघले बिहीबार एक दिन देशभरका सरकारी तथा निजी अस्पताल, नर्सिङहोम र क्लिनिकहरुमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघले स्वास्थ्य संस्थाहरु बन्द गरेर बिहीबार मध्याह्न १२ बजे माइतीघरमन्डलामा प्रदर्शनमा उत्रन पनि सबै चिकित्सकहरुलाई आह्वान गरेको छ ।

एक दिन स्वास्थ्य संस्था बन्द गरेर सांकेतिक जनाऊ दिँदा पनि सरकारले कुनै चासो नदेखाए डा. केसीको जीवनरक्षाका लागि अनिश्चितकालीन बन्दमा उत्रिन बाध्य हुने पनि संघको चेतावनी रहेको छ ।

यता, वीर र टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुलेसमेत पठनपाठन ठप्प पारेका छन् ।

डा. केसीको माग सम्बोधन गराउन उनीहरुले वसन्तपुर दरबार क्षेत्रमा विरोधका कार्यक्रमसमेत गरेका छन् ।

बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा छाड्ने आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले बताए ।

१९ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । मुटु तथा घाँटीमा समस्या देखिएकाले उनलाई जुनसुकै बेला जे पनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

डा. केसीलाई जुनसुकै बेला सीसीयुमा राख्नुपर्ने अवस्था आउने भन्दै उपचारमा संलग्न चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यस्तो सुविधा नहुँदा चिन्ता थपिएको बताएका छन् ।

भिडियो हेर्नुहोस्