
प्रकाश लम्साल (इमेज)
बारा, असार ३१ । अविरल वर्षाका कारण बाराको ४० प्रतिशत माछापोखरीमा ठूलो क्षति पुगेको बताइएको छ ।
वर्षाका कारण आएको बाढीले करिब एक अर्ब रुपैयाँको माछा बगाएको व्यवसायीहरुले बताएका छन् ।
जिल्लाका बकैया र पसाह खोलाको पानी बस्तीमा पस्दा पोखरीमा पालिएका करिब चार हजार मेट्रिकटन माछा बगेको हो ।
माछाको ‘पकेट’ क्षेत्र मानिएको यस क्षेत्रमा करिब एक अर्ब बराबरको क्षति पुर्याएको जिल्ला मत्स्य व्यवसायी संघले जनाएको छ ।
कोल्हवी नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष सार्थक पौडेलले बाढीका कारण किसानकोे लाखौं रुपैयाँ बराबरको क्षति भएको बताए ।
आफ्नो पोखरीमा भएका दुई लाख माछाका भुरा बाढीले बगाएको व्यवसायी बाबु यादवले बताए ।
माछा उत्पादनमा ६० प्रतिशत योगदान पुर्याउँदै आएको बाराको कुल १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ ।
जिल्लामा यो वर्ष ४९ हजार मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष राखिएको संघका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।
बारामा गएको वर्ष ४१ हजार मेट्रिकटन माछा उत्पादन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्