१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


आप्रवासी कामदारको हक, अधिकार रक्षाका लागि काम गर्न सरकारलाई सुझाव


0
Shares

काठमाडौं, असार ३१ । राष्ट्रिय मानवअधिकार आयोगले रोजगारीका लागि विदेश पुग्ने नेपालीहरुले शोषण, जबर्जस्ती श्रम, बेचविखन तथा ओसार–पसारलगायतका समस्या भोग्नुपरेको जनाएको छ ।

मंगलबार राजधानीमा आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँचसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले आप्रवासी कामदारको हक, अधिकार रक्षाका लागि काम गर्न सरकारलाई सुझाव दिएको छ ।

श्रम स्वीकृति लिएर विदेश जानेहरुमध्ये ९५ प्रतिशत व्यक्तिगत ‘एजेन्ट’ सम्पर्कबाट गएको प्रतिवेदनले देखाएको छ ।

सम्झौताअनुरुपको तलब सुविधा नपाउने, रोजगारदाता तथा कामको प्रकृति फरक हुनु, काम गर्ने समय अधिक हुनेलगायतका समस्यासमेत नेपाली श्रमिकहरुले भोगिरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

विदेशिनेहरु प्रति ३४४ जनामध्ये २५३ जनाले कुनै न कुनै प्रकारको समस्या भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले अध्ययनकाक्रममा फेलापरेका विभिन्न तथ्यहरुलाई ध्यान दिँदै वैदेशिक रोजगार एजेन्सीहरुको गलत अभ्यासलाई कारबाहीको दायरामा ल्याउनका लागि निःशुल्क भिसा, निःशुल्क टिकट योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने औंल्याएको छ ।

आयोगका सदस्य सुदीप पाठकले महिला कामदारहरुको जोखिम न्यूनीकरणको साटो झन् थपिएको पाइएको भन्दै विदेश जानेहरुलाई पर्याप्त तालिम दिनुपर्ने आवश्यकता देखिएको बताए ।

छिमेकी राष्ट्र भारतमा जाने नेपाली कामदारले संरक्षण तथा पहिचानको अभाव भोग्नुपरेको तथा पैसा घर पठाउने सुरक्षित माध्यम नभएको र एचआइभी संक्रमण हुनेलगायतका समस्या भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।