१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


वर्षौंदेखि ‘आइरन’युक्त पानी पिउन बाध्य


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, असार ३१ । झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरका १३ सय घरपरिवार शुद्ध पानी पिउनबाट बन्चित भएका छन् ।

खानेपानी आयोजनाले गति लिन नसक्दा उनीहरु वर्षौंदेखि ‘आइरन’युक्त पानी पिउन बाध्य भएका हुन् ।

ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ ।

ट्युबवेलको पानीमा आइरनको मात्रा बढेपछि सिमेन्टको ठूलो रिङमा बालुवा, गिटी, कोइलालगायतका सामग्री राखेर फिल्टरको व्यवस्था त मिलाएका छन् तर त्यति गर्दा पनि पानी रातो नै हुन्छ ।

हरेक महिना फिल्टरको बालुवा फेर्नुपर्ने बाध्यतामा रहेका उनीहरुलाई बालुवा लिन विरिङ खोलासम्म धाउनुपर्ने बाध्यता छ । फिल्टर गरेको पानी पिउँदा पनि उनीहरु स्वस्थ छैनन् ।

कपडा, प्रयोग गर्ने भाँडाकुँडा रातो हुने भएकाले कपडा धुनका लागि अधिकांश खोलामै धाउँछन् । घरको ट्युबवेलमा आउने पानी चलाउँदा हातखुट्टा फुट्ने समस्या छ ।

मेयरदेखि सांसदसम्मलाई पटक–पटक समस्या दर्साउँदा पनि सम्बोधन नभएको स्थानीय झुमा दाहालको गुनासो छ ।

उसो त यहाँका स्थानीयलाई देखाएर ‘प्रजापति जामुनवाडी कन्काई खानेपानी आयोजना’ र ‘प्रजापति खानेपानी विस्तार आयोजना’ डीपीआर पनि तयार भइसकको छ । तर, कामले गति लिन सकेको छैन ।

पर्याप्त बजेट नहुँदा काम हुन गर्न समस्या भएको कन्काई नगरपालिका–१ का वडाध्यक्ष रोशन पोखरेलको भनाइ छ ।

प्रजापति खानेपानी विस्तार आयोजनालाई यस वर्ष २० लाख र प्रजापति जामुनबाडी कन्काई खानेपानी आयोजनालाई पाँच लाख रुपैयाँमात्र बजेट विनियोजन भएको छ ।

दुई करोडको लागत लाग्ने आयोजनालाई पाँच लाख छुट्याउँदा समस्या भएको आयोजनाका सचिव निर्मलकुमार खनाल बताउँछन् ।

शुद्ध पिउनेपानीका लागि संघर्ष गरेको वर्षौं बितिसक्यो । तर, अझैपनि उनीहरुको समस्या जीवितै छ ।

भिडियो हेर्नुहोस्