
-विराज रोस्यारा/ ईमेज
कैलाली । तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यका साथ कैलालीमा निर्माण सुरु गरिएको हुलाकी सडकको काम नौ वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन ।
रुख कटानसम्बन्धी कानुनी विवाद, निर्माणमा ढिलासुस्तीलगायतका कारणले आधा काम बाँकी नै छ ।
भारत सरकारको १ अर्ब २६ करोड रुपैयाँको सहयोगमा सन् २०१० देखि निर्माण सुरु गरिएको कैलालीको हुलाकी सडक हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।
वन क्षेत्रमा कानुनी अड्चनलगायतका समस्याले सडकको काम अवरुद्ध हुँदा स्थानीय निराश भइसकेका छन् ।
धनगढी–भजनी–सत्ती खण्डको ६२ किलोमिटरमध्ये ४४ किलोमिटरमा सडक कालोपत्रे भएको छ ।
२ किलोमिटरको वन क्षेत्रमा सडक नबन्दा स्थानीय हिलाम्य सडकमा हिड्डुल गर्न बाध्य छन् ।
दुई किलोमिटर क्षेत्रको सडक निर्माणमा अवरोध भएपछि स्थानीय सरकारले सङ्घीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गरेको जनाएको छ ।
रुख कटान गरी बाटो निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने माग गर्दै दुई पटक ‘डेलिगेशन’ पनि गइसकेको भन्दै दुई किलोमिटर क्षेत्रमा यसरी अल्झाउनुको औचित्य नरहेको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी बताउँछन् ।
वन विभागबाट रुख कटानको आदेश अहिलेसम्म नआएको हुलाकी सडक आयोजनाले जनाएको छ ।
वन क्षेत्रको १६ किलोमिटरमा सडक निर्माणको काम गरिरहेको चन्द्रा एण्ड बसन्ताको ठेक्का अवधि आर्थिक वर्ष २०७६/०७७ सम्म रहेको छ ।
रुख कटानको आदेश आए आर्थिक वर्ष २०७६÷०७७ मै काम सम्पन्न गर्ने आयोजना प्रमुख रामपुकार जैसवालको भनाइ छ ।
कानुनी अड्चनलाई यथासम्भव हल गरेर निर्माणाधीन सडकलाई छिटै सम्पन्न गर्ने वातावरण बनाइदिए आम जनता खुसी हुने थिए ।
प्रतिक्रिया दिनुहोस्