Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

काठमाडौं, असार ३० । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/०७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजीबजार सहभागीहरुको क्षमता तथा कार्यक्षेत्र वृद्धि तथा संस्थागत क्षमताको अभिवृद्धिलगायतका कार्यक्रमले आगामी वर्ष पुँजीबजारको विकास र विस्तार हुने दाबी गरे ।

बोर्डले लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको हकप्रद सेयर निष्कासनमा हाल लगानीकताहरुले आफ्नो हकसम्मकोमात्रै आवेदन दिन पाउने व्यवस्था रहेकामा आगामी दिनमा आफ्नो हकभन्दा बढी आवेदन दिन पाउने व्यवस्था गर्ने भएको छ ।

निजी क्षेत्रमा अर्काे स्टक एक्सचेन्ज स्थापना गर्न दिने कार्यलाई अगाडि बढाउने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

५० करोड वा सोभन्दामाथिका र एक अर्ब वा सोभन्दा बढीको पुँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गर्ने, केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृतरुपमा रहेको निश्चित सीमासम्मको सेयरहरुको बिमा गर्नका लागि सहजीकरण गर्नेलगायतका कार्यक्रम पनि बोर्डले तय गरेको छ ।

धितोपत्र बजारमा कारोबार हुने सूचीकृत कम्पनी, कारोबार रकम, कारोबार हुने धितोपत्र आदि सम्बन्धमा ‘अलर्ट जेनेरेटिङ रियल टाइम सर्भेलियन्स’ गर्न ‘अटोमेटेड मार्केट सर्भेलियन्स सिस्टम’ विकासका लागि दक्षिण एसियाली राष्ट्रको नियमन निकायसँग सहकार्य गर्ने पनि बोर्डले जनाएको छ ।

धितोपत्र बजारमा महिला तथा ज्येष्ठ नागरिकको सहभागिता बढाउन समावेशी नीति लिने बोर्डले जनाएको छ ।