२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


धादिङमा निर्माणाधीन सिमेन्ट उद्योगमा बाढी पस्दा ठूलो क्षति


0
Shares

धादिङ, असार ३० । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२, ताल्तीमा निर्माणाधीन चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगमा बाढी पस्दा ठूलो क्षति भएको छ ।

मलेखु खोला किनारमा बन्दै गरेको उद्योगमा सोमबार बिहान बाढी पसेको हो ।

मलेखु खोलाको बाढीले निर्माणाधीन उद्योगका तीनओटा जिप, दुईओटा टिपर र दुईओटा डोजर बगाएको छ । निर्माणस्थल जलाम्य बनेको छ ।

मजदुर आवासलगायत उद्योगका संरचनाहरु बाढीमा पुरिएका छन् ।

आइतबार रातिदेखि नै खोला बढ्न थालेपछि बगरमा रहेका मजदुर तथा प्राविधिक आवास खाली गराएर नजिकैको पिपल भन्ज्याङ माविमा सारिएको थियो ।

दुईजना कोरियाली र पाँचजना चिनियाँ नागरिक भने बाढीमा फसेकामा उनीहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

निर्माणाधीन उद्योगको कम्पाउन्ड क्षेत्रलाइ घेरेर टापु बनाइ दुवैतर्फबाट बाढी पसेको थियो ।

उद्योग निर्माणस्थलमा २७० जना चिनियाँ र ३५० जना नेपाली गरी ६२० जना कामदार कार्यरत् रहेका छन् ।