
हेटौंडा, असार ३० । मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको बाँध तत्काल नखोलिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथमका कार्यालय प्रमुख रामकुमार यादवकाअनुसार अहिले ड्याममा पानीको सतह खतराको तहभन्दा कम हुँदै गएकाले तत्काल बाँध खोलिहाल्नुपर्ने अवस्था नरहेको जानकारी दिए ।
बाँधमा पानीको सतह १५ सय २७ घनमिटर पुग्यो भने खतरा मानिन्छ । तर, अहिले खतराभन्दा ७५ सेन्टीमिटर कम पानी रहेको बताइएको छ ।
यदि, पानीको बहाव बढेर खतराको सूचकमा पुगे बाँधका केही ढोकामात्र खोलिनेसमेत उनले जानकारी दिए ।
त्यो पानी पनि वाग्मती नदीमा गएर मिसिने हुँदा खासै प्रभाव नपर्ने बताइएको छ ।
तर, गएको शुक्रबारकोजस्तो वर्षा भएको खन्डमा भने बाँधले नधान्नेसमेत उनले प्रस्ट पारे । त्यो समयमा भने बाँधका सबै ढोका खोलिने उनले जानकारी दिए ।
गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्रले भने बाँधमा अहिले पानी बढ्ने दर घटेकाले ‘टर्वाइन’बाटै नियन्त्रित निकास भइरहेको जनाएको छ ।
#update #Kulekhani_dam कुलेखानी सरोबरमा विहान पानी बढ्ने क्रम बढी रहेकोमा अहिले बढ्ने दर घटेको हुँदा टर्वाइनवाट नै नियन्त्रित निकास भइरहेको छ । बाँध खोल्नुपर्ने अवस्था आएमा समयमा नै SMS समेतबाट सम्भावित प्रभाव क्षेत्रमा जानकारी गराइँने छ । सतह अहिले १५२६.१८/१५३० छ ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) July 15, 2019
बाँध खोलेको अवस्थामा मकवानपुरका भीमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीका विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिक सचेत हुनुपर्छ ।
यता, कुलेखानीको ड्याम्प खोल्दा तल्लो तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।
सर्लाही र रौतहटमा स्थानीय प्रशासनले पनि सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गराएका छन् ।
कुलेखानीको ड्याम्प खोलिए त्यहाँको पानी सर्लाही र रौतहट पुग्न झन्डै ४ घन्टा लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्