५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने कांग्रेसको निर्णय


0
Shares

काठमाडौं, साउन २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ ।

सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन पनि चल्न नदिने निर्णय गरेको हो ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा बसेको कांग्रेस पदाधिकारीसहितका नेताहरुको बैठकले जुम्लामा आमरण अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय पनि भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै, प्रतिपक्षी दल कांग्रेसले संविधानअनुसार संघीय संसद र प्रदेश संसदमा सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थालाई जोडतोडका साथ उठाउने प्रवक्ता शर्माले जानकारी दिए ।

अहिले संघीय संसद र प्रदेश संसदमा सभामुख र उपसभामुख एउटै पार्टीका छन् ।

विधान मस्यौदा समिति गठन हुने

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिने भएपछि कांग्रेसको विधान मस्यौदा समिति गठन हुने भएको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई शीर्ष नेताहरुको छलफलमा नेता पौडेलले बिहीबार (भोलि)सम्म नाम दिने सहमति गरेकोे प्रवक्ता शर्माले जानकारी दिए ।

बिहीबार साँझसम्म विधान मस्यौदा समिति गठन भए समितिले ३५ देखि ४५ दिनभित्र मस्यौदा तयार गरिसक्ने जनाइएको छ ।

प्रवक्ता शर्माकाअनुसार विधान मस्यौदा समिति ९ देखि ११ सदस्सीय बन्ने सम्भावना छ ।