२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बाढी तथा डुबानले रौतहटमा बेहाल (भिडियो)


0
Shares

संजय कार्की

रौतहट, असार २९ । गत बिहीबार साँझदेखि परेको अविरल वर्षा आइतबार बिहानदेखि रोकिएपछि रौतहटका बासिन्दाले केही राहतको अनुभूति गरेका छन् । तर पानीले पुर्‍याएको क्षतिका कारण जनजीवन भने निकै कष्टकर बन्न पुगेको छ ।

आइतबार बिहानदेखि वर्षा मत्थर बन्दै गएको छ । तर तीन दिन लगातार परेको पानीका कारण आएको बाढीले रौतहटको जनजीवन नराम्ररी प्रभावित बनाएको छ । बाढीका कारण रौतहटमा मात्र २५ हजार सर्वसाधारण प्रभावित बनेको स्थानीय प्रशाशनले जनाएको छ । अत्यधिक वर्षाका कारण डुबानमा परेपछि रौटहटको सदरमुकाम गौरसहित अधिकांश स्थानमा टेलिफोन, बिजुली, खानेपानीलगायतका सेवा अवरुद्ध बनेको छ । 

प्रहरीको सञ्चार सेटसमेत अवरुद्ध भएपछि जिल्लामा भएको क्षतिको यकिन तथ्यांक संकलन हुन सकेको छैन । वर्षा रोकिए पनि सडकमा पसेको पानी नघट्दा सर्वसाधारणलाई हिड्डुल गर्न समस्या भएको छ ।

एकातिर पीउने पानी र शौचालयको समेत समस्या देखिएको छ भने अर्कोतर्फ बाढीका कारण बिषालु सर्पको बिगबिगी बढेको छ । जसका कारण जमेको पानीमा हिड्न समेत स्थानीय त्रसित बनेका छन् । सर्पसँगै बिच्छी, खजुरोको टोकाईबाट पीडित हुनेको संख्या बढ्दा जिल्ला अस्पताल भरिभराउ बनेको छ ।

यता, विस्थापितहरु भने विद्यालय, आफन्त र सुरक्षित स्थानमा पाल हालेर बसेका छन् । केही स्थानीय संघसंस्थाले तत्कालका लागि सामान्य खाने व्यवस्था गरे पनि प्रदेश सरकारले भने हालसम्म कुनै राहत पु¥याउन सकेको छैन ।

पानीको सतह बिस्तारै घट्दै गएकाले जिल्लाको जनजीवन सामान्य अवस्थामा फर्काउने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी किरण थापा बताउँछन् ।

बाढीका कारण जिल्लामा हालसम्म पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । यस्तै, २५ हजार घरपरिबार विस्थापित बनेको रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्री बताउँछन् ।

पाँच सयभन्दा बढी पक्की घर र ९० प्रतिशत भन्दा बढी फुसको घरमा क्षति पुगेको छ । सयौं पशु चौपाया मरेका छन् । सदरमुकाम गौरबाट ग्रामीण भेग जोड्ने सबै सडक अवरुद्ध भएका कारण यस भेगमा आवातजावत समेत ठप्प छ ।

रौतहटको पूर्वतर्फ भएर बग्ने बाग्मती नदी र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर डुबानमा परेको हो । यस्तै भारतले दशगजामा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ पानी फर्कंदा ईशनाथ, दुर्गाभगवती, यमुनामाई, राजपुरलगायतका दर्जनौं गाउँ डुबानमा परेका हुन् ।

भिडियो हेर्नुहोस्