Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मलेसियाविरुद्धको दुई म्याचको टी–२० सिरिजमा नेपालको क्लिन स्वीप


0
Shares

काठमाडौं । नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी–ट्वेन्टी सिरिज क्लिन स्वीप गरेको छ ।

मलेसियामा आज भएको दोस्रो खेलमा घरेलु टोली मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए ।

अमिनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेसिया सामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ बिकेट गुमाएर १ सय ७३ रन बनाएको हो ।

नेपालका लागि विनोद भण्डारीले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

योसँगै विनोद टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौथो खेलाडी बने ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे ।

रोहितकुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए । मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । सिरिजपछि नेपाली टोली मलेसियाबाट अब सिंगापुर प्रस्थान गर्नेछ ।

सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुँदैछ ।