
काठमाडौं(जिल्ला ब्यूरो) । बाढी र पहिरोका कारण अबरुद्ध भएका मुलुकका विभिन्न सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ ।
सडक विभागले सडक खुलाउने प्रयास भइरहेको भए पनि सबै सडक सुचारु गर्न अझै केही दिन लाग्ने जनाएको हो ।
विभागले काठमाडौंबाट बल्खु हुँदै हेटौंडा जोड्ने सडक खुलाउन कम्तिमा चार दिन लाग्ने जनाएको छ ।
मकवानपुरको कुलेखानी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाउन चार दिन जति लाग्ने भएको हो । यस्तै अवरुद्ध बीपी राजमार्ग खुलाउन पनि दुई दिन लाग्ने भएको छ ।
काभ्रेको रोशी गाउँपालिका–११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कमेरेमा सडकमा लेदो माटो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।
काभ्रे भिरमा चट्टान काटेर सडक बनाउनुपर्ने भएकाले अझै केही दिन लाग्न सक्ने विभागको भनाइ छ ।
त्यसैगरी मुस्ताङको थामाङ गाउँपालिका–४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको वहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको छ ।
त्यस्तै अबरुद्ध भएको उदयपुरको घुर्मी–कटारी सडकखण्ड सञ्चालनमा आउन पनि केही दिन लाग्ने भएको छ ।
सिद्धिचरण राजमार्ग सञ्चालनमा आउन भने कम्तिमा ३ दिन लाग्ने विभागले जनाएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा पहिरो खसेर राजमार्ग अबरुद्ध बनेको हो । यस्तै हिजोदेखि अवरुद्ध सिद्वार्थ राजमार्ग खुलाउने प्रयास जारी छ ।
राजमार्गमा पहिरो जाँदा ठूला ढुंगा खसेकाले पन्छाउन समय लाग्दा सञ्चालनमा ल्याउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।
सडक विभागले अत्यावश्यक अवस्थाबाहेक क्षति पुगेका वा संवेदनशील देखिएका सडक प्रयोग नगर्न आग्रह गरेको छ ।
यता, भारी वर्षाले बाग्लुङका विभिन्न स्थानमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गका अधिकांश खण्ड क्षतविक्षत बनेका छन् ।
सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर खण्ड स्तरोन्नति नहुँदा यात्रीले सास्ती खेपेका छन् ।
उक्त खण्डमा हिलाम्य छ भने अन्य कालोपत्रे गरिएको खण्डको दर्जनौं स्थानमा खसेको पहिरोले सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
दुदिलाभाटीको झाँक्रीस्थान, काफलठुटा, मल्मको आँगखेत र छिस, रिघा फेदीका विभिन्न स्थान, ग्वालीचौर, भीमगिठेलगायतका स्थानमा पहिरो खसेको छ ।
बडिगाड क्षेत्रमा यो क्रम अझै बढी छ । बडिगाड खोलाले पक्की सडक पनि भासिएको छ ।
निरन्तर पानी परिरहेकाले खोला बढेर अझै भत्किने खतरा भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्