२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बर्षा र डुवानले रौतहट अस्तब्यस्त


0
Shares

रौतहट । अत्याधिक वर्षाका कारण डुवानमा परेपछि रौटहटको सदरमुकाम गौरको टेलिफोन, बिजुली, खानेपानीलगायतका सेवा अबरुद्ध भएपछि जनजीवन अस्तव्यस्त भएको छ ।

प्रहरीको सञ्चार सेटसमेत अवरुद्ध भएपछि जिल्लाको क्षतिको यकिन तथ्यांक संकलन हुन सकेको छैन ।

तीन दिनदेखि डुवानमा परेका गौरका नागरिकको जीवन कष्टकर बनेको छ । खानपिन र शौचमा समेत उनीहरुलाई समस्या भएको छ ।

सदरमुकाम गौरबाट ग्रामीण भेग जोड्ने सडक अवरुद्ध भएका कारण आवातजावत हुन सकेको छैन । आज बिहानबाट भने डुबान क्षेत्रमा पानीको सतह घट्न थालेको छ ।

भारतले दशगजामा निर्माण गरेको तटबन्धका कारण ईशनाथ, गौर नगरपालिका, दुर्गाभगवती र यमुनामाई गाउँपालिका बर्सेनी डुबानमा पर्दै आएका छन् ।

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रमुुख जिल्ला अधिकारी किरण थापाले बताए ।

यसैबीच वर्षा र बाढीका कारण रौतहटमा आजसम्म दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा गौर नगरपालिका–३ टिकुलियाका शिवमंगल राउत पटेल र ईशनाथ नगरपालिका– १ बन्जरहाका हरेन्द्र राय यादव छन् ।

यसैगरी दुर्गा भगवती गाउँपालिका–४ का वीरेन्द्र मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।