
सुनसरी । लगातारको वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सुनसरीको सप्तकोसी ब्यारेजका सबै ढोका खोलिएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि भारतले ब्यारेजका सबै ढोका खोलेको हो । सप्तकोशीमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
सामान्यतथा सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ ।
सप्तकोशी व्यारेजका सबै ढोका नखोल्दा कोशीको पूर्वी भागतर्फ कटान हुने त्रास बढ्ने गरेको स्थानीयले बताएका छन् ।
सप्तकोशीमा गएराति पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७१ हजार १ सय १९ क्युसेक पुगेपछि भारतले ब्यारेजका ५६ वटै ढोका खोलेको हो ।
बाढी पुलसम्मै आएपछि भारतले कोशी ब्यारेजका सबै ढोका खोलिदिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
योसँगै आज विहानबाट पानीको बहाव केही घटेको छ ।
पाँच दिनदेखिको लगातार वर्षाका कारण सप्तकोशी नदीमा आज विहान पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १२ हजार ७ सय ४० क्यूसेक पुगेको एसपी पोखरेलले बताए ।
तर वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
२०६४ साल भदौ ५ गते राती सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ६८ हजार क्यूसेक पुग्दा पूर्वी तटबन्ध भत्काएर ठूलो क्षति पु¥याएको थियो ।
प्रतिक्रिया दिनुहोस्