१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


‘युवा सहभागी कृषि प्रणाली लागू गरिन्छ’


0
Shares

काठमाडौं, साउन २ । कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउने कार्यक्रम ल्याउन युवाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार राजधानीमा युवा परिषदले गरेको कृषिमा सहभागी देशभरका युवाहरुको भेलामा युवाहरुले कृषि उद्यममा चासो राख्दै आफ्नो भूमिका खोजेका हुन् ।

नेपाली कृषि क्षेत्रको रुपान्तरण युवाको सहभागिताबाटमात्र सम्भव हुने भन्दै सहभागीले कृषि क्षेत्रमा युवाको सहभागिता बढाउनका लागि सरकारले आह्वान गर्नुपर्ने सुझाव दिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न सरकारले युवा, विद्यार्थी परिचालन गरी कृषिमा लगाउने योजना बनाउन लागेको बताए ।

कृषि र उद्यमको सम्भावना नेपालमा बढ्दै गएको भन्दै उनले सरकारले नीतिगत अध्ययन, अनुसन्धान गरिरहेको बताए ।

नीति निर्माण तथा कार्यक्रम अनुगमनमा युवा किसानको भूमिका अर्थपूर्ण हुने भएकाले सरकारले युवा सहभागी कृषि प्रणाली लागू गर्ने उनले बताए ।

युवा परिषदका अध्यक्ष माधव ढुंगेलले कृषिमा ग्रामीण क्षेत्रका युवालाई दक्ष बनाउनुपर्ने बताए ।

परम्परातग कृषि प्रणालीबाट विकास सम्भव नहुने भन्दै आधुनिकीकरणका लागि सरकारले युवामैत्री कार्यक्रम ल्याउनुपर्ने सुझाव उनको थियो ।

भेलामा सहभागी अरु युवाहरुले भने सरकारले युवा स्वरोजगारका लागि दिने सहुलियत ग्रामीणमुखी नभएको भन्दै युवा कृषि नीति बनाउन माग गरे ।

भेलामा डा. विष्णुकुमार धितालले कृषि र युवा विषयक कार्यपत्र प्रस्तुत् गरेका थिए ।