
भक्तपुर, साउन २ । विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर, चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ १५ गते राति मध्यपुर ठिमी नगरपालिका–६ कुन्डोल, भगवतीमार्गस्थित नवीन बुढाथोकीको घरमा दराज फुटाइ नगद तथा सुनचाँदीका गरगहनासमेत गरी रु सात लाख २५ हजार बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको भन्दै रिमाललाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
निजको साथबाट चोरी गरेको विभिन्न धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, विराटनगर महानगरपालिका–१४ घर भइ हाल भक्तपुर, सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने सन्तोष घिमिरेको घरबाट रु करिब एक लाख २५ हजार बराबरको धनमाल चोरी भएको छ ।
बाथरुमको झ्यालबाट प्रवेश गरी मोबाइल दुईथान र एकथान ल्यापटपसमेत गरी करिब रु एक लाख २५ हजार बराबरको धनमाल मंगलबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्