२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कञ्चनपुरमा वर्षभरीमा ११ हजार ५ सय १० सवारी साधन कारवाहीमा


0
Shares

कञ्चनपुर, असार २८ । कञ्चनपुरमा पछिल्लो समय सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । ओभरलोड तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढेका कारण सवारी दुर्घटना पनि बढेको भन्दै ट्राफिक प्रहरीले सवारी ऐन नियम उल्लंघन गर्ने सवारी साधनलाई कडाइ गर्न थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालू आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार ५ सय १० सवारी साधन कारवाहीमा परेका छन् । जसबाट ६६ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा ८ हजार ६ सय ११ वटा सवारी कारबाहीमा परेका थिए । जसबाट ४९ लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गएको आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख भरत शाहले बताए ।