२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


मोरङमा बाढी र डुबानका कारण दुई हजारभन्दा बढी मानिस विस्थापित (तस्वीर)


0
Shares

विराटनगर, असार २८ । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ ।

मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् ।

महानगरमा मात्रै २ सय ७३ परिवारका १ हजार ४ सय १३ जना विस्थापित भएका छन् । त्यस्तै नजिकका गाउँपालिकाहरु कटहरी, बुढीगंगा, जहदामा पनि बाढी र डुबानका कारण ५ सय ९७ जना विस्थापित भएका छन् ।

कटहरी गाउँपालिका–४ नयाँबजार सुकुम्बासी बस्तीका १ सय २५ परिवार बाढीका कारण विस्थापित भएका छन् भने सिंघिया खोलाको बाँध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका–१ धुनिटोलका ४० परिवार विस्थापित भएका छन् ।

डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा–७ मा १६ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् ।

बाढीका कारण मोरङको कानेपोखरी गाउँपालिका–२ गेउरिया खोलाले एक जनालाई बगाएको छ । बगाएका व्यक्तिको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

संघीया, केसलियालगायतका खोलामा आएको बाढीका कारण विराटनगर, बुढीगंगा, कटहरी, जहदा गाउँपालिकालगायतका स्थान बढी प्रभावित छन् ।