हेलमेट ‘क्लु’बाट समातिए अपराधीः एउटा पसलमा भेटिएको हेलमेट काफी • Image Khabar Image Khabar


हेलमेट ‘क्लु’बाट समातिए अपराधीः एउटा पसलमा भेटिएको हेलमेट काफी


Imagekhabar
२८ आश्विन २०७७, बुधबार ०८:१०

हेलमेट ‘क्लु’बाट समातिए अपराधीः एउटा पसलमा भेटिएको हेलमेट काफी

काठमाडौं । कुनै पनि अपराध कर्ममा संलग्न अपराधी सकेसम्म घटनाको ‘क्लु’ प्रहरीले फेला नपारोस् भन्ने ठानेर अपराध गर्दा अनेक जुक्ति लगाउँछन् । तर, नेपाल प्रहरी अपवादबाहेकका घटनाको अनुसन्धानमा अपराधी नजिक पुगेको पाइन्छ ।

भक्तपुरको सुडालमा गत २१ असोजमा त्यस्तै एउटा घटना भयो । जहाँ प्रहरीलाई घटनाको ‘क्लु’ पत्ता लगाउन र अपराधी समात्न एउटा पसलमा भेटिएको हेलमेट काफी भयो ।

घटना गत बुधबारको हो । साँझ चार बजेको छ । भक्तपुरका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन चाँगुनारायण नगरपालिका–८ सुडालस्थित आफ्नै पसलमा बसिरहेका छन् ।

दुई युवा जग्गा खोज्दै चन्द्रबहादुर नजिक पुग्छन् र जग्गाको कारोबारमा संलग्न रहेका ती युवालाई जग्गा देखाउन चन्द्रबहादुर उनीहरूसँगै हिँड्छन् ।

जग्गा देखाउने क्रममा उनीहरूबीच विवाद सुरु हुन्छ । एउटै जग्गा धेरैलाई देखाएको भन्दै एकाएक चन्द्रबहादुमाथि कुटपिट गरिन्छ । चन्द्रबहादुर त्यही ढल्छन् र ती दुई युवा उनले लगाएका सुनका गरगहना लुटेर हिँड्छन् ।

स्थानीयले घाइते अवस्थामा देखेपछि चन्द्रबहादुरलाई मध्यपुर अस्पतालसम्म पु¥याउँछन् ।

त्यहाँ उपचार नभएपछि उनलाई अन्यत्र रिफर गरिन्छ । तर चन्द्रबहादुर बाँच्दैनन् । उनको निधन भएको अस्पतालले पुष्टि गर्छ ।

घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीलाई चिनजानका व्यक्तिको संलग्नता नदेखिएपछि घटनामा संलग्नहरूको पुष्टि गर्न हम्मेहम्मे पर्छ ।

प्रहरीले सीसीटीभी फुटेज र फोन रेकर्डसमेत खोज्छ । तर, घटना स्थलमा सीसीटीभी र संलग्न व्यक्तिको फोन रेकर्ड भेटिँदैन । ‘क्लु’ भेट्नै प्रहरीलाई मुस्किल पर्छ ।

त्यत्तिकैमा पसलमा ‘रक्स’ लेखिएको हेलमेट प्रहरीको नजरमा पर्छ । जुन प्रहरीका लागि अनुसन्धान ‘क्लु’ साबित हुन्छ ।

त्यही हेलमेट क्लुबाट प्रहरी सीसीटीभी फुटेज खोज्न थाल्दछ अनि भेटिन्छन् सिन्धुपाल्चोकका २३ वर्षीय रमेश तामाङ र रामेछापका २७ वर्षीय प्रेम तामाङ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाले आफन्तलाई जग्गा आवश्यक परेको भन्दै ती युवा जग्गा हेर्न पुगेको घटनाको अनुसन्धानका क्रममा देखिएको बताए ।

उनले सो जग्गा पहिले नै सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामाले बैना लिएर पास नगरी ठगेको भनेपछि ती युवा थर्काउन भन्दै त्यहाँ पुगेको पाइएको जानकारी दिए ।

सो क्रममा एउटै जग्गा धेरैलाई देखाएको भन्दै चन्द्रबहादुरमाथि हातपात भएको पाइएको हो । प्रहरीले कामी लामालाई पनि पक्राउ गरेको छ ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्