
काठमाडौं, असार २७ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यती एअरलाइन्सको एक विमान धावनमार्गबाट चिप्लिएको छ ।
‘९ एन–एएमएम’ कलसाइन भएको विमान बिहान ११ बजेर ५ मिनेटमा अवतरणकाक्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सीवेमा पुगेको हो ।
नेपालगन्जबाट काठमाडौं आएको सो विमानमा ६८ यात्री र चालकदलका चार सदस्य गरी ७२ जना सवार थिए ।
विमानमा सवार सबैलाई सकुशल बाहिर निकालिएको यती एअरलाइन्सले जनाएको छ ।
विमान चिप्लिएपछि अन्तर्राष्ट्रिय विमानस्थल दिनभर ठप्प भयो । जसका कारण सयौं यात्री अलपत्र परेका छन् ।
अवतरणका लागि आएका विमानहरु आकाशमै ‘होल्ड’ भएका थिए ।
खराब मौसम र यती एअरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण हवाई सेवा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए ।
विमानस्थल सुचारु गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
आन्तरिक एवं बाह्य उडानका विमानलाई अन्यत्र ‘डाइभर्ट’ गरिएको थियो ।
दुबई र दिल्लीबाट काठमाडौंका लागि आएका नेपाल वायुसेवा निगमका विमान नयाँदिल्ली फिर्ता पठाइएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए ।
यस्तै, आन्तरिकतर्फ सिमरा र नेपालगन्जबाट आएका विमान पोखरा तथा धनगढी र सुर्खेतबाट काठमाडौंमा आएका विमान भैरहवा पठाइएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्