१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


कृषिमन्त्रीद्वारा केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण, भने–‘विषादीको प्रयोग भयावह छैन’


0
Shares

काठमाडौं, असार २७ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् ।

मन्त्री खनालसहित राज्यमन्त्री रामकुमारी चौधरी शुक्रबार कालीमाटीस्थित कृषि प्रयोगशाला पुगेर तरकारी तथा फलफूलमा विषादी भए/नभएको निरीक्षण गर्ने प्रविधिकोबारेमा जानकारी लिएका हुन् ।

पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर आलोचित भएपछि सरकारका तर्फबाट विषादी मापन गर्ने कृषि प्रयोगशालाको निरीक्षण गरिएको हो ।

कृषिमन्त्री खनालले सरकारसँग पूर्वाधार नभएकाले तत्काल विषादी परीक्षण गर्न सम्भव नभएको बताए ।

प्रयोगशाला पुगेका मन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ ओटा र अरु दुई समूहका विषादी परीक्षण हुने बताए ।

उनले ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुने बताए ।

मन्त्री खनालले सबै समूहको विषादी परीक्षणपछि रिपोर्ट आउन दुई दिनभन्दा बढी समय लाग्ने भएकाले तरकारी तथा फलफूल भित्रने नाकामा मापन गर्न नसकिने भएकाले नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव नहुने बताए ।

मन्त्री खनालले अहिले तरकारीमा विषादीको प्रयोग भयावह नभएकोसमेत दाबी गरे ।

पछिल्लोपटक गरिएका दुई हजार नमुना परीक्षणमा दुईओटालेमात्र पहेंलो ‘लाइन क्रस’ गरेको र त्यो तरकारीलाई तत्काल नस्ट गरिएको पनि उनले बताए ।

उनले विषादी परीक्षणको वैज्ञानिक प्रविधिको अध्ययन गरी प्रविधियुक्त र विशिष्ट ल्याबको आवश्यकता रहेको बताए ।

त्यसक्रममा मन्त्री खनालले कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा रहेका तरकारी र फलफूलको विषादी परीक्षण गर्न पनि निर्देशन दिए ।