२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पहिरोले घर बगाउँदा तीन बेपत्ता, रातो खोलाले वृद्धलाई बगायो


0
Shares

खोटाङ । खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।

आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए ।

“पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्”, उनले भने, “अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा  परिचालन भएका छन् ।”

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ ।

घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गए रातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ ।

यता, महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ । रासस