टिआरपी विवादमा नेपालले सिक्नुपर्ने पाठ • Image Khabar Image Khabar


टिआरपी विवादमा नेपालले सिक्नुपर्ने पाठ


Imagekhabar
२६ आश्विन २०७७, सोमबार १७:५७

article laxman humagain TRP advertisement india nepal

लक्ष्मण हुमागाईं, सञ्चार विज्ञ

भारतीय टेलिभिजनमा गएको हप्ता टिआरपी विवादले निकै चर्चा पायो । टेलिभिजनको लोकप्रियता मापन गर्ने माध्यम टेलिभिजन रेटिंङ्ग प्वाईण्ट TRP मा मिलेमतो गरी केही टेलिभिजनले आफुलाई लोकप्रिय रहेको सावित गरेको प्रमाण प्रहरीले फेला पार्‍यो । मुम्बई प्रहरीले गरेको उक्त अनुसन्धानमा तीन वटा टेलिभिजनविरुद्ध मुद्दा दायर गरिने भएको छ । झण्डै ४० हजार करोड भारतीय रुपैयाँ बराबरको भारतीय टेलिभिजन विज्ञापन बजारको निर्णायक तत्व नै TRP हो ।

जसलाई थोरै तलमाथि गर्न सके करोडौंको नाफा हात पार्न टेलिभिजन व्यवसायीहरु सफल हुन्छन् ।
भारतीय अनुसन्धान संस्था ब्रोडकाष्ट अडिएन्स रिसर्च काउन्सीलले (BARC) TRP को अनुसन्धान गर्दै आएको छ । यो एक स्वायत्त निकाय हो । जसमा विज्ञापन चक्रमा सहभागी सबैको सहभागीता रहेको छ । उक्त संस्थाले भारतभर करिब ४५ हजार घरमा त्यस्ता ब्यारोमिटर जडान गरी अनुसन्धान गर्दै आएको छ । मुम्बईमा उक्त अनुसन्धानको जिम्मा लगाएको कम्पनी हान्साका पूर्व कर्मचारीले ती टेलिभिजनसँग मिलेर ब्यारोमिटर राखेको घरसँग सम्पर्क गराएको प्रहरीको आरोप छ ।

मुम्बईमा दुई हजार घरमा ब्यारोमिटर जडान गरी TRP मापन गरिएको थियो । ब्रोडकाष्ट अडिएन्स रिसर्च काउन्सीलले TRP मापन गर्ने जिम्मेवारी भारतमा अनुसन्धानका क्षेत्रमा ख्याति कमाएको हान्सा रिसर्च ग्रुपलाई दिएको थियो । हान्साका एक पूर्व कर्मचारीसँग मिलेर भारतका तीन वटा टेलिभिजन सञ्चालकले ब्यारोमिटर जडान गरिएको घरमा आफ्नो टेलिभिजनलाई मात्र चौबिसै घण्टा खुल्ला राख्न लगाएको प्रहरीले जनाएको छ ।

त्यसका लागि ब्यारोमिटर जडान गरिएको घरका मानिसलाई पैसा दिएको प्रमाणसमेत प्रहरीले फेला पारेको छ । आरोपित टेलिभिजनहरुले प्रहरीको आरोपको खण्डन गरेपनि प्रहरीले जुटाएको प्रमाण र पक्राउ परेका व्यक्तिको आधारमा प्रहरीले गरेको अनुन्सधानलाई कमजोर भन्न सकिने अवस्था छैन । यदि यो आरोप प्रमाणित भए विश्वकै तेश्रो ठूलो भारतीय टेलिभिजन बजारमा घटेको यो अहिलेसम्मकै ठूलो भ्रष्टाचारकाण्ड हुन सक्छ ।

के हो TRP ?

टेलिभिजन रेटिंङ्ग प्वाईण्ट TRP टेलिभिजनको लोकप्रियता थाहा पाउने माध्यम हो । भिन्न आर्थिक अवस्था, शैक्षिक योग्यता, शहर तथा ग्रामीण क्षेत्र तथा भाषा, भाषीको बसोबास रहेको क्षेत्रलाई विभिन्न क्लष्टरमा बाँढेर त्यस क्षेत्रमा बसोबास गर्ने मानिसको घरमा रहेको टेलिभिजन सेटमा एक प्रकारको मापन गर्ने डिभाईस (ब्यारोमिटर) जडान गरिन्छ । यसरी जडान गरिएका ब्यारोमिटरमा एक मिनेटभन्दा बढी समय कुनै टेलिभिजन हेरेमा त्यो रेकर्ड राख्दछ । यसरी दर्शकले दैनिक कति समय कुन टेलिभिजनमा कुन कार्यक्रम हेरे निकाल्न सकिन्छ । यसरी निकालिएको तथ्यांकको विष्लेषणका आधारमा टेलिभिजनको लोकप्रियता र त्यसका कार्यक्रमको लोकप्रियता निकाल्ने गरिन्छ ।

यसरी दैनिक गरिएको अनुगमनको आधारमा भारतमा ब्रोडकाष्ट अडिएन्स रिसर्च काउन्सील (BARC) ले साप्ताहिक रुपमा टेलिभिजनको लोकप्रियता निकाल्ने गर्दछ । यसैलाई आधार बनाई विज्ञापनदाताले कुन टेलिभिजन विज्ञापन प्रसारण गर्ने, कुन कार्यक्रममा विज्ञापन राख्ने निर्धारण गर्दछन् भने टेलिभिजनहरुले आफ्नो लोकप्रियताकै आधारमा विज्ञापनको दर निर्धारण गर्दछन् । करिब एकसय तीस अर्ब जनसंख्या रहेको भारतमा ४५ हजार टेलिभिजन सेटको अनुगमनवाट विज्ञापन दर र त्च्ए अनुगमन गर्नु नै गलत भएको भारतीय विज्ञहरुको भनाइ छ ।

भारतीय टेलिभिजन बजार

भारत विश्वको तेश्रो ठूलो टेलिभिजन बजार हो । भारतमा टेलिभिजन तथा रेडियोको नियामक निकायको रुपमा सूचना तथा प्रसारण मन्त्रालय तथा प्रसारणको छुट्टै विभाग छ । जसले विषयवस्तुको अनुगमन गर्दछ भने प्राविधिक पक्षको अनुगमनको लागि भारतीय दुरसञ्चार विनियामक प्राधिकरणले गर्ने गर्दछ । त्यस्तै अडिएन्स रिसर्चका लागि भारतमा ब्रोडकाष्ट अडिएन्स रिसर्च काउन्सील (BARC) रहेको छ । काउन्सीलमा विज्ञापनदाता, विज्ञापन एजेन्सी, प्रसारक र उपभोक्ता समेतको सहभागीता छ । स्वतन्त्र व्यक्तिहरुको संलग्नतामा रहेको स्वायत्त काउन्सीलले अडिएन्स रिसर्चको काम गर्ने व्यवस्था मिलाइएको छ ।

सो काउन्सील आफैले देशभर अनुसन्धान नगरी विभिन्न शहरमा विभिन्न अनुसन्धानदाता कम्पनीलाई काम दिने गरेकोमा मुम्बईमा हान्साले उक्त काम गर्दै आएको थियो । विश्वभर शाखा रहेको हान्सा कम्पनी सन् २०१८ मा समेत विवादमा आएको थियो । हाल उक्त कम्पनीको कारण भारतीय टेलिभिजन बजार तातेको छ भने जनतालाई सुसूचित गराउने र तथ्य सूचना प्रदान गर्ने जिम्मा बोकेका टेलिभिजन च्यानल नै गलत काममा लागेको चर्चा चुलिएको छ ।

नेपालले सिक्नु पर्ने पाठ

भारतको तुलनामा नेपालको टेलिभिजन उद्योगलाई नगण्य रुपमा लिनु पर्दछ । करिब ४० हजार करोड भारतीय रुपैयाँको भारतीय टेलिभिजन विज्ञापन बजारको तुलनामा दुई सय करोडको नेपाली टेलिभिजनको विज्ञापन बजार छ । सानै भएपनि नेपालको TRP को जिम्मा यतिबेला विज्ञापन एजेन्सीको हातमा छ । उनीहरुले विभिन्न श्रोतबाट सूचना संकलन गरि नेपाली टेलिभिजनको TRP निकाल्ने गरेका छन् ।

विज्ञापन एजेन्सीले लिने आधारमा अहिले केही केवल टेलिभिजनले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्ने गरेको पाईन्छ भने परम्परागत अनुसन्धानलाई अर्को आधार मान्ने गरिएको छ । साथै टेलिभिजनको कभरेज एरिया, तिनमा प्रसारण हुने कार्यक्रम, तिनले प्रयोग गर्ने प्रविधि, ब्राण्डसमेतलाई आधार मानेर नेपालमा TRP निर्धारण गर्ने गरिएको छ । जसको कुनै वैज्ञानिक आधार छैन ।

नेपाली टेलिभिजन उद्योग विस्तार हुने क्रममा रहेको छ भने परम्परागत रुपमा एसी नेल्सनले केही बर्ष अघि निकाल्ने तथ्यांक र नेपालमा एसी नेल्सनले काम गर्न छाडेपछि एजेन्सीहरुले गरेको अनुमानको भरमा नेपाली टेलिभिजन उद्योग सञ्चालनमा छ ।

अबको बाटो

ढिलो वा चाँडो नेपाली टेलिभिजनको लोकप्रियता मापन गर्नु नै छ । त्यसका लागि नेपालमा अहिलेसम्म कुनै निकाय छैन र गठन हुने सुरसार पनि छैन । भारतमा ब्रोडकाष्ट अडिएन्स रिसर्च काउन्सील जस्तै नेपालमा पनि सरोकारवाला निकायकै संलग्नतामा विज्ञापन बोर्ड गठन हुने प्रक्रियामा छ । अवैध तरिकावाट लिईएको तथ्यांकको आधारमा लोकप्रियता मूल्यांकन गर्नुको सट्टा वैधानिक बाटोबाटै लोकप्रियता जाँच्न सकिने अवस्था विद्यमान छ ।

विज्ञापन बोर्ड अन्तर्गत नै विज्ञापनदाता, विज्ञापन एजेन्सी, टेलिभिजन सञ्चालक र उपभोक्तासमेत रहेको एउटा स्वायत्त कमिटी गठन गरी त्यसले विभिन्न श्रोतहरु केबल अप्रेटरहरुका हेड हण्ट तथा अन्य श्रोतबाट सूचना संकलन गरी TRP मापन गर्ने हो भने नेपालले नयाँ उपलब्धी हासिल गर्न सक्दछ ।

नेपालमा केवल, भू–सतह, भू–उपग्रह मार्फत प्रसारण हुने करिब एक सय च्यानलको लोकप्रियता, तिनको उपस्थिति, स्थानीय, क्षेत्रीय वा राष्ट्रिय एकिन गर्ने तथा तिनलाई नियमन गर्न सके उनीहरुको विज्ञापनको दरमा एकरुपता ल्याउन सकिन्छ । भारतीय बजारमा देखा परेको अहिलेको संकटबाट पाठ सिकेर हामीले पनि कदम चाल्न ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्