Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निर्देशन सच्चाउन समितिको निर्देशन


0
Shares

काठमाडौं, असार २६ । राष्ट्रियसभाअन्तर्गत्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सेयर सनाखत गराउने विषयमा क्षेत्राधिकारबाहिर गएर निर्देशन दिएको भन्दै सच्चाउन निर्देशन दिएको छ ।

समितिको बिहीबारको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको निजी सचिवालयले २०७५ असार २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयलाई सेयर सनाखत गराउने विषयमा क्षेत्राधिकारबाहिर गएर निर्देशन दिएको ठहर गर्दै सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्री यादवको निजी सचिवालयले २०७५ असार २७ गते विभिन्न कम्पनीहरुका सेयर किनबेचका सम्बन्धमा किनबेच भइसकेपछि पनि विभिन्न विवादहरु सिर्जना हुने गरेकोप्रति मन्त्रीको ध्यानाकर्षण भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेको थियो ।

पत्रमा आगामी दिनमा यस्ता विवादहरु सिर्जना हुन नदिन सेयर किनबेचको लगत दर्ता गर्दा सम्बन्धित दूतावास वा अदालतमा सम्बन्धित व्यक्तिले गरेको सनाखतको आधारमा वा यहाँकै रोहवरमा किनबेचको कागजमा सम्बन्धित व्यक्तिको सनाखत गराएरमात्र सेयर लगत दर्ता गर्ने व्यवस्था गर्न निर्देशन दिइएको थियो ।

उक्त क्षेत्राधिकार परराष्ट्र मन्त्रालयको रहेको भन्दै निर्देशन सच्चाउन समितिले निर्देशन दिने निर्णय गरेको समिति सभापति रामनारायण बिडारीले बताए ।