
काठमाडौं । आज र भोलि देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ ।
विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने खतरा छ ।
तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।
नेपाल बाढी सूचनाले जारी गरेको सूचनामा प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशभर वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।
अहिले मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ ।
आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहीरहने मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्