२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


0
Shares

काठमाडौं, असार २५ । सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश जारी गर्दै भन्सारहरुमा परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरक–फरक रिट दर्ता गराएका थिए ।

ती सबै रिटमा उक्त इजालसले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले असार ३० गते रिटका दुवैपक्षलाई छलफलका लागि बोलाएको छ ।

त्यसपछिमात्र अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे थप निर्णय हुनेछ ।

रिटमा भारतबाट विषादी परीक्षण गरेरमात्र तरकारी ल्याउन र नेपालकै तरकारी पनि परीक्षणपछिमात्रै किनबेच गर्न सरकारलाई आदेश दिन माग गरिएको छ ।

भारतबाट आयात हुने फलफूल र तरकारीमा यही असार २ गतेदेखि सुरु गरिएको विषादी परीक्षण रोक्न भारतले दबाब दिएपछि मन्त्रिपरिषद्को असार १९ गतेको बैठकले विषादी परीक्षणबारेको निर्णय फिर्ता लिएको थियो ।

काठमाडौंस्थित भारतीय राजदूतावासले असार १४ गते परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पत्र पठाउँदै विषादी परीक्षण गर्नुको कारण सोधेको खुलासा भएको थियो ।