८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024


पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत,साउन २ । अविरल बर्षाको कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।

गएराति अन्दाजी एक बजेको समयमा स्थानीय बमबहादुर परियारको एक तले कच्ची घर पहिरोले बगाउँदा उनका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अविरल वर्षाकै कारण उक्त गाउँका १५ घर पूर्ण जोखिममा परेका छन् । पहिरोको जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण जलजला गाउँपालिका–७ धाईरिङ बास्कोट बस्ने भिमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ । राति घर भत्किदा सुतिरहेका ६ जना घाईते भएका छन् । घाईतेहरूको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीहरुले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रस लगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ । 

बेनी-मालढुंगा सडक अवरुद्ध

कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगा देखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । 

गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८ लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ ।

त्यस्तै सडकमा गुडिरहेको ध१ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदिमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रुहरु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदिप सापकोटाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा म्याग्दीको बेनी र हिमालपारिको जिल्ला मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनहरु पर्वतको मिलनचोकमा अलपत्र परेका छन् भने अन्यबाट ती जिल्लामा आएका सवारीसानहरु खनियाँघाटमा अलपत्र परेका छन् ।