
विराटनगर । कोभिड– १९ का कारण मुलुकमा लकडाउन हुँदा धेरैले रोजगारी गुमाएका छन् ।
तर चुनौतीले संभावनाको नयाँ ढोका खोल्छ भन्ने उदाहारण विराटनगरका एक युवाले देखाएका छन् ।
कोरोनाका कारण कामविहीन भएका एक युवाले घरमै सानोतिनो पेशा व्यवसाय गरेर आम्दानी गर्न सुरु गरेका छन् ।
मोरङ झोराहाटका भरत गुरागाईंको परिचय साहित्यकार र कलाकार हो । तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ गुरागाईं ।
सरकारी शिक्षकको जागिर छाडेर नाट्य क्षेत्रमा लाग्नुभएका गुरागाईं पछिल्लो समय घरमै व्यवसाय थाल्नु भएको छ ।
अन्य क्षेत्रलाई झैं नाट्य क्षेत्रलाई पनि कोरोनाले असर पारेपछि गुरागाईंले झोराहाटस्थित नाटकघरमा ताला लगाएर यतिबेला आफ्नै घरमा बट्टाई पालन सुरु गर्नुभएको छ ।
एक सय वटा बट्टाईबाट व्यवसाय सुरु गरेका गुरागाईंको खोरमा अहिले ५ सय बट्टाई छन् । ती बट्टाईले धमाधम अण्डा पार्न सुरु गरेका छन् ।
प्रतिगोटा अण्डाको ७ रुपैयाँले बिक्री हुने गरेको उहाँको भनाइ छ । भाले बट्टाई प्रतिगोटा २ सय र पोथी बट्टाई २ सय ५० रुपैयाँले बिक्री हुने गरेको छ ।
अण्डाको खपत राम्रो भइरहेको उहाँले बताउनुभयो । अब घरमै चल्ला उत्पादन गर्ने योजनाका साथ ह्याचिङ मेसिन र जेनेरेटरसमेत खरिद गरिसकेको गुरागाईं बताउनुहुन्छ ।
ह्याचिङ मेसिनमा अण्डा हालेको १५ देखि १७ दिनमा चल्ला उत्पादन हुने गर्छ । प्रतिगोटा चल्लाको मूल्य ४० रुपैयाँ पर्छ ।
उत्पादन गर्न सके अण्डाको माग बजारमा अत्यधिक रहेको उहाँको भनाइ छ । बट्टाईको अण्डा खाँदा थाइराइड, दम, मुटुलगायतका समस्या कम हुने जनाइएको छ ।
गुरागाईंको यो काममा आइटी अध्ययन गरेका छोराले साथ दिइरहेका छन् । गुरागाईंले बट्टाईका साथै स्थानीय जातका कुखुरा र खसी पनि पाल्नुभएको छ ।
कुखुरा र खसी पालनलाई पनि अझै विस्तार गर्ने गुरागाईंको योजना छ । कोरोनाका कारण मुलुककै अर्थतन्त्र थला परेका बेला हरेक नागरिकले आफ्नै घरमा सानोतिनो पेशा व्यवसायमार्फत उत्पादन कार्यमा जुटे स्वरोजगार बन्न राज्यको मुख ताक्नु पर्दैन ।
प्रतिक्रिया दिनुहोस्