
काठमाडौं, असार २५ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमानजिक रहेकाले बुधबार देशभर वर्षा भइरहेको छ ।
अझै दुई/तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशका केही स्थानमा भारी वर्षा हुने र एक/दुई स्थानमा अतिभारी वर्षासमेत हुने जनाएको छ ।
मौसमविद् राजु प्रधानांगकाअनुसार विशेषगरी आज र भोलि योक्रम जारी रहनेछ ।
‘वर्षा निरन्तर नभइ एकछिन रोकिने पुनः सुरु हुनेछ’–मौसमविद् प्रधानांगले भने ।
त्यस्तै, शुक्रबार देशभर बदली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी, पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगन्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार प्रदेश नम्बर–१, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश तथा प्रदेश नम्बर–२ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।
यसैबीच, ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी–साधन चलाउनुअघि ‘वाइपर’ र ‘हेडलाइट’ जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ‘ब्रेक’ कम लाग्नसक्ने र सवारी अनियन्त्रित हुनसक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्