
काठमाडौं, असार २४ । पछिल्लो समय फलफूल तथा तरकारीमा प्रयोग हुने विषादी, यसको मात्रा र परीक्षणलाई लिएर निकै चर्चा चल्दै आएको छ ।
विषादी जाँच कसरी हुन्छ ? प्रविधि के छ ? यसबारे हामीले प्रयोगशालामा पुगेर जिज्ञासा राखेका छौं ।
हाल ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी परीक्षणको काम काठमाडौं उपत्यकालगायत देशका विभिन्न ८ ठाउँहरुमा भइरहेको छ ।
कर्णाली प्रदेशमा कुनैपनि प्रयोगशाला छैन । बुटवलमा कर्मचारी अभावका कारण प्रयोगशाला बन्द रहेको केन्द्रीय प्रयोगशालाले जनाएको छ ।
केन्द्रीय प्रयोगशालामात्रै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला रहेको छ ।
कालीमाटी तरकारी बजारमा केन्द्रीय प्रयोगशालाअन्तर्गत्को बाली संरक्षणअन्तर्गत् रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइमार्फत् हाल दुई जातका विषादीको जाँच गरिँदै आएको छ ।
भारतबाट काठमाडौंमा आइपुगेका तरकारीको जाँच गर्न भन्सारका नजिक रहेका नाकाहरुमा प्रयोगशालाको अभाव भएपछि काठमाडौंमा नै दैनिक १०० भन्दा बढी तरकारीको नमुना परीक्षण गरिएको थियो ।
इकाइमा हाल दैनिक १० देखि १५ जातका तरकारी संकलन गरी नमुना परीक्षण गर्ने गरिन्छ भने सोको नमुना रिपोर्ट कालीमाटी तरकरी तथा फलफूल विकास समितिलाई बुझाउने गरिएको इकाइले जनाएको छ ।
विषादीको परीक्षणका लागि सर्वप्रथम तरकारीको नमुना छनोट गरिन्छ । त्यसपछि त्यसलाई काटेर ‘टेस्टट्युब’मा राखेर मेसिनमा राखी झोल बनाइन्छ अनि ‘स्पेक्टोफोटोमिटर’मा राखिन्छ ।
त्यसपश्चात् परीक्षण मेसिनमा राखी परीक्षण गरिने बाली संरक्षणका वरिष्ठ बाली संरक्षक राजीवदास राजभण्डारी बताउँछन् ।
यसरी राखिएपछि यस मेसिनले रुकावट दर पत्ता लगाउँछ । सो मेसिनले क्वारेन्टाइन दर ३५ भन्दा कम देखाएमा खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ सम्म भएमा चार वा पाँच दिनपछिमात्रै खान मिल्ने हुन्छ ।
४५ भन्दामाथि देखाएमा खान नहुने र नस्ट गर्नुपर्ने उनको भनाइ छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा रहेको यो इकाइमा ‘अर्गानो फस्फेट’ र ‘कार्बामेट’ नामक विषादीमात्रै परीक्षण गर्ने गरिएको उनले जानकारी दिए ।
क्वारेन्टाइन परीक्षणअन्तर्गत् बाली तथा बिरुवामा लाग्ने रोगहरु नियन्त्रणका लागि जाँच गरिन्छ भने जीवनाशक प्रयोगशालाअन्तर्गत् कुनैपनि तरकारीजन्य वस्तुमा भएको विषादीको मात्रा पत्ता लगाउने गरिन्छ ।
पछिल्लो समय भारतबाटमात्रै आयात हुने तरकारीमामात्रै नभइ नेपालमै पनि विषादीको मात्रा बढिरहेकाले कृषकहरुले विषादीको कम प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
किटनाशक विषादी प्रयोगशाला नहुँदा भारतबाट आएका ट्रकहरु नाकामै रोकिएपछि भने अहिले मन्त्रालयको सहयोगमा इकाइले विभिन्न क्षेत्रका कर्मचारीहरुलाई तालिमसमेत दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्