२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१४ वटा देशमा ट्रान्जिट हुँदै अमेरिका, २७ लाख सकियो, हतकडीसहित स्वदेश


0
Shares

काठमाडौं । १४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् ।

मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् ।

गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो । दाङ, झापा, रुकुम पूर्व, बाग्लुङ र दोलखाका युवा त्यसरी निष्कासनमा परेका हुन् ।

उनीहरूलाई मानव तस्करको समूहले विभिन्न देश हुँदै अमेरिकाको सीमासम्म पु¥याएको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी देवबहादुर बोहराले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा पनि उनीहरूको हातमा हत्कडी लगाइएको थियो । सुन्दर जीवनको सपना बोकेर अमेरिका पुगेका उनीहरू स्वदेश फर्कँदा बेखर्ची थिए ।

त्यसरी फर्किएकामध्ये एक हुन्, रुकुम पूर्वका रमेश केसी (नाम परिवर्तन) । २० कात्तिक ०७५ मा उनको अमेरिका यात्रा सुरु भएको थियो । नेपालबाट सुरुमा उनलाई कतार हुँदै इथियोपिया पुर्‍याइयो ।

त्यहाँबाट दुबई हुँदै फ्रान्स, चिली, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै अमेरिकाको छिमेकी देश मेक्सिको पुर्‍याइयो । त्यहाँबाट अमेरिका छिर्ने क्रममा उनी पक्राउ परे । यसबीचमा २७ लाख रुपैयाँ सकिएको उनले प्रहरीलाई बताएका छन् ।

करिब २२ महिना जेल बसेर नेपाल आएका उनलाई लिन प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली विमानस्थल पुगेको थियो, तर उनले गिरोहविरुद्ध प्रहरीमा उजुरी दिन मानेका छैनन् । नयाँ पत्रिका दैनिकबाट