
सागर महत (इमेज)
अर्घाखाँची, असार २३ । अर्घाखाँचीमा सोमबार एक कार दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, बिहार, मुगलिनबजारमा मे१६प ६३८१ नम्बरको अल्टो कार दुर्घटनामा परेको हो ।
कार मालारानी गाउँपालिका वडा नम्बर–४, सितबाट सन्धिखर्कतर्फ आउँदै थियो ।
दुर्घटनमा परी मालारानीका पाँचजना घाइते भएका हुन् । घाइते हुनेहरुमा कारचालक अशोक खड्का, भीमप्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र विकास भुसाल रहेका छन् ।
घाइतेमध्ये बिमलालाई थप उपचारका लागि भैरहवा ‘रिफर’ गरिएको छ । अरु घाइतेको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
कार सडकबाट हुत्तिएर नजिकको खेतमा पुगेको थियो ।
तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते चालक खड्का प्रहरीको निगरानीमा उपचाररत् छन् । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उक्त क्षेत्रमा बाटो पिच भएकाले गाडीहरु ‘ओभर स्पीड’मा गुड्दा दुर्घटना हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्