३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


खानेपानीको अभावमा बसाई सर्नुपर्ने बाध्यता


0
Shares

टेकराज अवस्थी

डडेल्धुरा, असार २३ । खानेपानीको समस्या बढ्दै गएपछि डडेल्धुराको अजयमेरु गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ बसाइसराइको क्रम बढ्न थालेको छ ।

अजयमेरु गाउँपालिका वडा नं. ५ र ६ का अधिकांश गाउँ र बस्तीहरुमा खानेपानीको चरम अभाव छ । गाउँपालिकाअन्तर्गतका गाल मटेला भण्डारी गाउँ, झिङनी, राजुल ओडिगाउँ लगायतकागाउँमा खानेपानी नहुँदा राति २ बजे उठेर खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

खानेपानीको जोहो गर्दागर्दै अरु काम गर्न नपाइने भएकाले सर्वसाधारण दिक्क बनेका छन् । बिनाअध्ययन सडक निर्माण कार्य हुनु, पानीका मुहानको संरक्षणमा चासो नदेखाउनु तथा खानेपानीको समस्याप्रति सरकोकारवाला निकायको बेवास्ताले वर्षौंदेखिको यो समस्या ज्यूँका त्यूँ छ । खानेपानीको अभाव भएपछि बर्सेनि गाउँबाट तराईतर्फ बसाइ सर्नेहरुको संख्या बढ्न थालेको छ ।

शुद्ध खानेपानीको आपुर्तिका विषयमा गाउँमा बेलाबेलामा कार्यक्रम सञ्चालन हुने गरेका छन् । तर पानीको समस्याका कारण महिलाहरुलाई खाना पकाउने, भाँडा माझ्ने, गाइबस्तुलाई खुवाउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले दिनभर पिरोलिरहन्छ । पानीको अभावका कारण अजयमेरु गाउँपालिका वडा नं. ५ र ६ मा आर्थिक वर्ष २०७४/०७५ मा ४४ जना पुरुष र ३२ जना महिलाले थातथलो छोडेर गएको तथ्यांक गाउँपालिकासँग रहेको वडासचिव केशव भट्टको भनाइ छ ।

भिडियो हेर्नुहोस्