Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भक्तपुरमा किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ


0
Shares

भक्तपुर, असोज १८ । पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका­१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुले यही असोज १६ गते बिहान ११ बजे किशोरीलाई रत्नपार्कबाट भक्तपुर आउने बसमा राखी पानीमा बेहोस हुने औषधि खुवाएर सूर्यविनायक ल्याई नम्बर नखुलेको बसमा १७ गते बिहान १० बजेसम्म सामूहिक बलात्कार गरेका थिए ।

सोही दिन बिहान ११ बजेदेखि राति करिब १० बजेसम्म चाँगुनारायण नगरपालिका­८ तवियाखुसीस्थित खोला किनारामा पार्किङ्ग गरिराखेको बा.३ ख. २६१२ नम्बरको बसमा लगेर समेत सामूहिक बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले तीन युवाको चुंगलबाट फुत्की प्रहरीकोमा पुगेर घटनाबारे जानकारी गराएपछि प्रहरीले शनिबार नै दुईजना आरोपीलाई पक्राउ गरेको थियो ।

एकजना भने फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार जिल्ला अदालत भक्तपुरमा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दायर गरी पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । रासस