१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सीमा नाकाबाट अझै तरकारी भित्रिएनन्


0
Shares

काठमाडौं, असार २२ । भारतबाट विषादी परीक्षणपछि मात्र तरकारी तथा आयात गर्ने निर्णयबाट सरकार पछि हटे पनि सीमा नाकामा पूर्ववत् अवस्थामा तरकारी भित्रिन सकेका छैनन् ।

सरकारको आधिकारिक परिपत्र नआएको भन्दै अधिकांश नाकामा तरकारी रोकिएका हुन् । भारतबाट आयात हुने तरकारी, फलफूललगायतका कृषिजन्य वस्तुहरुको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटे पनि अधिकांश सीमा नाकाबाट पूर्ववत् अवस्थामा तरकारी तथा फलफूल भित्रिन भने सकेको छैन । सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकामा विषादी परीक्षण प्रयोगशाला नहुँदा तरकारी बोकेका गाडीहरु प्रवेश गर्न सकेका छैनन् । सरकारको निर्णयको आधिकारिक परिपत्र नआएको भन्दै अझै पनि तरकारी बोकेका गाडिलाई सीमा नाकामा कडाइ गरिएको छ । 

व्यापारीहरु आलु, प्याजलगायतका तरकारी नेपालगञ्जको रुपौडिया नाकाबाट ल्याइरहेका छन् । क्वारेन्टाइन कार्यालय गड्डाचौकी, मुकाम कार्यालय धनगढीका प्राविधिक सहायक देवराज खाती आधिकारिक सूचना आएपछि पुरानै अवस्थामा तरकारी आयात गरिने बताउँछन् ।

विराटनगरको जोगवनी नाकाबाट न्यून रुपमा तरकारीका गाडी प्रवेश गरेका छन् । झापाको काकँरभिट्टाबाट भने पूर्ववत् अवस्थामा तरकारी भित्रिन थालेको छ ।

नेपाल–भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यान्वयन गर्ने बताइएको छ । लागू गरेको दुई हप्ता नबित्दै आवश्यक तयारी नपुगेको भन्दै सरकारले हात झिके पनि यसलाई धेरैले भारतीय दबाबको परिणामको रुपमा टिप्पणी गरेका छन् ।