३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


शंखमूलस्थित जगतनारायण मन्दिर पुनर्निर्माण अलपत्र


0
Shares

काठमाडौं, असार २२ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले पूर्ण रुपमा क्षति पुगेको शंखमूलस्थित जगतनारायण मन्दिर पुनर्निर्माण अलपत्र परेको छ ।

यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २० प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको छ । 

करिब एक सय ७० वर्ष अघि तत्कालीन प्रधानमन्त्री जंगबहादुरका भाई जगतशमशेरले निर्माण गरेको जगत नारायण मन्दिर शंखमुल चिनाउने सम्पदाको रुपमा प्रसिद्ध छ । तर यो मन्दिरमा २०७२ को महाभूकम्पका कारण पूर्ण रुपमा क्षति पुग्यो ।

मन्दिर पूननिर्माणको जिम्मा पाएको पुरातत्व विभागले २०७३ पुषमा निर्माण कम्पनीसँग सम्झौता गर्‍यो । ८ करोड ३३ लाख लागतमा पुनर्निर्माण हुने मन्दिर यही असार अन्तिममा सम्पन्न गर्ने सम्झौता भएको थियो । तर निर्माण सुरु भएको झन्डै चार वर्षसम्म पनि पुनर्निर्माणले गति लिन सकेको छैन, निर्माण कार्य अलपत्रजस्तै बनेको छ ।

पुरातत्व विभागका प्रवक्ता रामवहादुर कुँवरले निर्माण कम्पनीलाई बारम्बार पत्राचार गर्दा सन्तोषजनक जवाफ नआएकाले अब ठेकेदार कम्पनीलाई नै कारवाही गर्ने बताए ।

शिखर शैलीमा बनेको मन्दिरको पुनर्निर्माण पनि पुरानै शैलीमा गर्ने सम्झौतामा उल्लेख छ । पुनर्निर्माणले गति लिन नसक्दा निर्माण सामग्रीहरु यत्रतत्र फालिएका छन् । मन्दिर परिसरमा माटो सम्याउने काम समेत भएको छैन । तर काष्ठकलाको काम भने भइरहेको छ ।

पुरातत्व विभागका प्रवक्ता कुवँरले भने कहिले कर्मचारी नभएको त कहिले सामान नभएको वहानामा काम रोकिएको बताए ।

उता काम गरेको पैसासमेत ठेकेदारले आफुहरुलाई नदिएको कामदारहरुको गुनासो छ । निर्माण कम्पनीलाई कारवाही गर्ने बताएको पुरातत्व विभागले अब मन्दिर पुनर्निर्माणको काम कसरी अघि बढाउने भन्नेबारे भने स्पष्ट जानकारी दिएको छैन ।

भिडियो रिपोर्ट हेर्नुहोस्