२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खोलियो, भारतबाट मूर्ति लगिने


0
Shares

काठमाडौं । पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि फेरि हिन्दू मन्दिर खोलिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा पञ्जाव प्रान्तको सियालकोटामा रहेको हिन्दू मन्दिर पुनः खोलिएको हो ।

मन्दिर खुला भएसँगै पाकिस्तानी हिन्दु धर्मावलम्बी निकै हर्षित भएका छन् ।  सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको हो ।

अब यस मन्दिरमा भारतबाट देवी–देवताका मूर्ति लगिने भएको छ । श्रद्धालुले यो मन्दिर खुलेपछि हिन्दु रीतिरिवाजले पूजा गरेर खुसियाली मनाएका छन् ।

यस क्रममा मन्दिरमा पूजा–पाठका साथै हिन्दू देवीदेवताको जयजयकार गरिएको हो । यो मन्दिर खोल्ने पहल पाकिस्तान इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्डले गरेको थियो ।

हिन्दु सुधार सभाका अध्यक्ष अमरनाथ रन्धावा, डा. मुनावर चन्द र पण्डित काशी रामसमेत अन्य हिन्दू अगुवाहरु मन्दिर खोलिएको समारोहमा उपस्थित थिए ।

मन्दिरलाई नयाँ रुप दिनका लागि लागत अनुमान गरेपछि यसको जीर्णोद्धारको काम थालिने भएको छ ।

हिन्दु सुधारसभाका अध्यक्ष अमरनाथ रन्धावाले मन्दिरलाई पुनः खोल्ने निर्णयप्रति इमरान सरकारको प्रशंसा भएको बताए । (एजेन्सी)