
-ध्रुव भट्टराई/ईमेज
विराटनगर । विराटनगरमा २२ वर्षअघि निर्माण गर्न सुरु गरिएको चक्रपथ निर्माण योजना अलपत्र बनेको छ ।
वजेट अभावका साथै मुआब्जाको विषयमा विवाद हुँदा अहिलेसम्म चक्रपथको ट्र्याक खोल्नेबाहेक अरु खास प्रगति हुन सकेको छैन ।
विराटनगर चक्रपथको कुल लम्बाई ४२ किलोमिटर छ । तर निर्माण सुरु गरिएको २२ वर्ष बितिसक्दासम्म अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।
जग्गा मुआब्जा विवाददेखि बजेट अभावका कारण चक्रपथको निर्माणको कामले गति लिन नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयको भनाइ छ ।
कार्यालयका इन्जिनियर रामसुवरण चौधरी विराटनगर चक्रपथको हालसम्म ३७ किलोमिटर मात्रै ट्रयाक खोलिएको पाँच किलो मिटर ट्रयाक खोल्ने क्रम रोकिएको बताउँछन् ।
चक्रपथ निर्माणको कामले गति नलिनुमा बजेट अभावदेखि स्थानीयको अवरोध मुल कारण देखिएको छ । ३४ मिटर चौडाइ रहेको चक्रपथका सहायक मार्ग आठदेखि १० मिटरका हुनेछन ।
चक्रपथ निर्माण गर्ने स्थानमा स्थानीयको जग्गा परेकाले मुआब्जाको विवाद समाधान नभएसम्म जग्गा दिने पक्षमा नरहेको स्थानीयको भनाइ छ ।
अर्कोतिर चक्रपथ निर्माणको लागि जग्गा दिएकाहरु पनि काम अलपत्र परेको भन्दै आक्रोशित बनेका छन ।
कटहरी क्षेत्रमा ट्रयाक खोलेको ४ किलोमिटर सडकमा स्थानीयले पुनःखेती गर्न शुरु गरेका छन् ।
४२ किलोमिटर लम्बाइ रहेको चक्रपथको लागि करिब पाँच अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ ।
भौतिक योजना मन्त्रालय मातहत रहने गरी सरकारले २०५४ सालमा सुरू गरेको योजना सहरी विकास मन्त्रालय र स्थानीय विकास मन्त्रालय हुँदै अहिले प्रदेश सरकारको मातहतमा आइपुगेको छ ।
विराटनगरको समग्र विकास एवं ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने भन्दै निर्माण सुरु गरिएको आयोजनाको सुस्त गति भने दिक्दारलाग्दो छ ।
प्रतिक्रिया दिनुहोस्