१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


बजेटले कसैलाई विभेद गरेको छैन : अर्थमन्त्री


0
Shares

काठमाडौं, असार २० । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटले कोही–कसैलाई पनि विभेद नगरेको दाबी गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलकाक्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटले कुनैपनि प्रदेश वा खास क्षेत्रलाई भेदभाव नगरेको बताएका हुन् ।

बजेट समाजवादउन्मुख रहेको र यसले प्रदेशलाई कहीं–कतै विभेद नगरेको दाबी गर्दै अर्थमन्त्री खतिवडाले एकले अर्को पक्षलाई आरोप लगाउनेभन्दा पनि राष्ट्रिय एजेन्डमा मिलेर गएमात्र मुलुकलाई समृद्ध नेपाल बनाउन सकिने बताए ।

बजेट नेताकेन्द्रित नभएको स्पस्ट पार्दै भूगोल र जनसंख्याको मापदन्डका आधारबाट सन्तुलितरुपमा बजेट विनियोजन भएको उनको जिकिर थियो ।

प्रदेशगत र स्थानीय तहगतरुपमा पनि मानव विकास सूचकांकका आधारमा पनि बजेट जाने भएकाले शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर विनियोजन भएको उनले स्पस्ट पारे ।

क्रमागत आयोजनालाई छाडेर जान नसकिने भएकाले केही जिल्लामा बढी आयोजना परेकोजस्तो देखिएको भन्दै उनले प्राथमिकताका आधारमा सबै क्षेत्रमा समानुपातिकरुपमा नै बजेट विनियोजन भएको बताए ।

प्रदेश र स्थानीय तहको मागका आधारमा विधि र प्रक्रियासम्मत् नयाँ आयोजना अघि बढाइएको जानकारी दिँदै आउँदो साउनदेखि नै नयाँ आर्थिक वर्षको परियोजना माग्न सुरु गरिने हुँदा आगामी आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनमा समस्या नआउने विश्वास पनि उनले व्यक्त गरे ।