१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


सीमानाकामै विषादी परीक्षणबाट पछि हट्यो सरकार, भारतीय चासोपछि उल्टियो निर्णय


0
Shares

काठमाडौं, असार २० । भारतबाट आयात हुने तरकारी, फलफूललगायतका कृषिजन्य वस्तुहरुको सीमानाकामै विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

यही असार २ गते राजपत्रमा विषादी परीक्षण गर्नेसम्बन्धी नीति प्रकाशित भएपछि लागू भएकामा सरकार दुई साता नहुँदै पछि हटेको हो ।

केही दिनयता विषादी परीक्षण नभइ नेपाल प्रवेश गर्न नदिइँदा नेपाल–भारत सीमानामा सयौं मालवाहक ट्रकहरु अड्किएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासले विषादी परीक्षणको व्यवस्थित प्रणाली स्थापना नगरी मालवाहक ट्रकहरु रोक्दा किसान र सर्वसाधारणलाई मर्का परेको भन्दै नेपाल सरकारलाई उक्त निर्णय पुनःविचार गर्न पत्र लेखेको खुलासा भएको थियो ।

त्यसपछि गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमानमा विषादी परीक्षण गरेपछिमात्रै कृषिजन्य वस्तुलाई नेपाल प्रवेश गराउने निर्णय ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विषादी परीक्षणका लागि आवश्यक तयारीसमेत नपुगेकाले सो निर्णय स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

नेपाल–भारत सीमानाकामा विषादी परीक्षण र ‘क्वारेन्टाइन’का लागि पूर्वाधार निमार्णपछिमात्रै निकासी–पैठारी नीतिको पूर्ण कार्यान्वयन गर्ने बताइएको छ ।

सरकारले दुई साताअघिमात्रै भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति लिएको थियो ।