
काठमाडौं, असार २० । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ ओटा स्वास्थ्य संस्था छनोट भएका छन् ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेस गरेका थिए ।
मन्त्रालयले गठन गरेको विशेषज्ञ सम्मिलित टोलीले सम्पूर्ण स्वास्थ्य संस्थाको अनुगमन गरी मापदन्ड पूरा भएका संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि छनोट गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
उक्त समितिको सिफारिसबमोजिम श्रम मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी स्वास्थ्य संस्थाको छनोट गरेको हो ।
छनोट भएका स्वास्थ्य संस्थामा भेनस अस्पताल (बानेश्वर), रत्न पोलिक्लिनिक (पृथ्वीचोक, पोखरा), मेट्रो अस्पताल (महाराजगन्ज), मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल (स्वयम्भू), नेपालगन्ज पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर (नेपालगन्ज, बाँके), शुलभ मेडिकल सेन्टर प्रालि (भरतपुर), नवजीवन अस्पताल धनगढीलगायत रहेका छन् ।
कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका १३८ स्वास्थ्य संस्थाले मलेसिया सरकारले दिएको मापदन्ड पूरा गर्न नसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मापदन्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई छनोट नहुनाका स्पस्ट कारणसहितको जानकारीसमेत दिएको छ ।
यसअघि, मलेसिया जाने कामदारको ३७ ओटा स्वास्थ्य संस्थालेमात्र स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
श्रममन्त्री गोकर्ण विष्टले जिम्मेवारी सम्हालेलगत्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणकाक्रममा ‘सिन्डिकेट’ लादिएको भन्दै ती संस्थामाथि कारबाही गरेका थिए ।
स्वास्थ्य संस्थाको मापदन्ड मलेसिया सरकारले नै पठाएको थियो । मापदन्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले न्यूनतम् आधारभूत संरचनासहित नयाँ प्रविधिको स्वास्थ्य परीक्षण गराउने उपकरणको व्यवस्था गरेका छन् ।
ती स्वास्थ्य संस्था भौतिक पूर्वाधारले सुविधासम्पन्न र स्वास्थ्य परीक्षण गराउने आवश्यक जनशक्तिको पूर्ण व्यवस्था भएका छन् ।
मापदन्डमा रेडियोग्राफी विभागमा ३०० एमए/५०० एमएको डिजिटल रेडियोग्राफी एक्स–रे मेसिन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।
त्यसैगरी, एक्स–रे गर्दा निस्कने विकिरणको सुरक्षित व्यवस्थापन हुनुपर्ने र एक्स–रे गर्न जाने कामदार पालो पर्खने उचित कोठाको प्रबन्ध गर्नुपर्ने व्यवस्थालाई पनि अनिवार्य गरिएको थियो ।
प्याथोलोजी विभागमा माइक्रोस्कोप, इल्सा रिडर, वायोकेमेस्ट्री एनलाइजर (पूर्ण स्वचालित)लगायत १७ प्रकारका स्वास्थ्य उपकरण अनिवार्य गरिएको थियो ।
कामदारका विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न आवश्यक १४ प्रकारका केमिकल स्वास्थ्य परीक्षण गराउने संस्थामा अनिवार्य हुनुपर्ने मापदन्डमा तोकिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्